आरन व्यवसाय संकटमा

प्रकाश धौलाकोटी
तेह्रथुम–हिउँदयाम शुरु भएसँगै किसानलाई बालीनाली थन्काउन र हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले धान, अलैँची, अम्लिसोलगायत बाली उठाउँदैछन् भने मकै छर्ने, तरकारी लगाउने, तोरी छर्नेलगायत कामको चटारो छ । खेती किसानीमा प्रयोग हुने औजारको किनबेच हुने बेला पनि यही हो तर पहिलेजस्तो घरेलु औजारको बिक्री वितरण भने हुन छाडेको व्यवसायीले गुनासो गरेका छन् ।
यो याममा सिक्कल, हँसिया, खुर्पा, बाम्फोक, कोदालो, कोदाली, काँटालगायत उपकरण धेरै प्रयोग हुन्छन् । वर्षामा भन्दा यो याममा त्यस्ता सामग्रीको व्यापार विगतमा झण्डै तेब्बर बढी हुन्थ्यो । तर अहिले विगतमा जस्तो व्यापार हुन छाडेको व्यवसायीको गुनासो छ । परम्परागतरूपमा दलित समुदायले फलाम पिटेर औजार तयार गर्ने यो पेशा अहिले हराउँदै छ ।
पहिले–पहिले वर्षभरि फलाम पिट्ने दलितले त्यसबापत्को थोरै अन्न/फलफूल या अरु केही पाउँथे । त्यहाँ कामअनुसारको दाम पाउनुपर्छ भन्नुको कुनै महत्व हुँदैनथ्यो तर अहिले त्यो चलन पूर्णरूपमा हराएको छ । दलित या अन्य जातिले नै किन नहोस् व्यावसायिकरूपमा आरन व्यवसाय चलाउन थालेका छन् ।
विगत दुई दशकदेखि सुधारिएको आरन व्यवसाय सञ्चालन गर्दै आएका आठराई गाउँपालिका–४ का वीरबहादुर विक यो समयमा काम नपाएर व्यवसायप्रति नै निराश भएको बताउँछन् । ‘दिनभर दुःख गर्दा एउटा कोदालो बन्छ’ उनले भने, ‘बजारमा ठूला उद्योगबाट बनेको आयातित कोदालो पाँच/सात सय रुपैयाँमा पाइन्छ, हाम्रो दुःखको त कुरा छाडौँ, फलामको पनि दाम उठ्दैन ।’ घरेलु हतियार बनाउने गुणस्तरीय फलाम ८० देखि १२० प्रतिकिलोमा खरीद गर्नुपर्ने उनले बताए । कृषि औजार बिक्री हुन छाडेपछि उनलाई व्यवसाय धान्नै समस्या परेको छ ।
परम्परागत बालीघरे चलन छाड्दै आरनलाई व्यावसायिक रूप दिएर चलाउने केही वर्षयता पेशा धान्न नसकेर दोधारमा छन् । आरनलाई चाहिने कोइला र कच्चा फलाम सजिलै र सस्तो मूल्यमा पाइन छाडेको छ । अर्कातिर बनाएका सामानको किनबेच पनि घटेको छ । तीन पुस्तादेखि हँसिया, कोदालो, कोदालीलगायत घरेलु औजार बनाउने र मर्मतको काम गर्दै आएका सोही वडाका उमानाथ विकले पनि अहिले घरेलु औजार बनाउन छाडेको बताए ।
आफू पाको हुँदै जाँदा अस्वस्थ भएको र आÏनो छोराले त्यो व्यवसायबाट आम्दानी नहुने भन्दै गर्नै छाडिदिएपछि उनको आरन थन्किएको छ । आरन व्यवसायीले पहिले भाँटीले आगो फुक्थे । जंगलमा धुँवा उडाउँदै कोइला काट्ने गर्थे, तर अहिले आरन व्यवसाय नयाँ बनाउनभन्दा पनि पुरानै सामग्रीलाई मर्मतसम्भार गर्नमा मात्रै सीमित बन्दैछ ।
आÏनो जीवनको झण्डै पाँच दशक आरनमै बिताएका छथर गाउँपालिका–१ का शेरबहादुर विकको परिवार अहिले तरकारी खेतीमा लागेको छ । ‘पुरानो परम्परागत पेशा छाड्नुपर्दा मनमा निको त लागेको छैन’ उनले भने, ‘तर छोरानातिले दुःख पाउलान् भनेर पनि आरन छाड्नुप¥यो ।’ सोही वडाका युवाले दुई वर्षअघि सामूहिक आरन व्यवसायको अभ्यास गरे तर अहिलेसम्म त्यो पूर्ण असफल जस्तै सावित भएको छ । युवाले जति मिहिनेत गर्छन्, त्यहीअनुसार मूल्य र बजार नपाउ“दा भएको उत्पादनले आम्दानी लिन सकेनन् । परम्परागत पेशालाई आधुनिकीकरण गर्न भन्दै युवाले आधुनिक कृषि औजार उद्योग नै दर्ता गरी सञ्चालनमा ल्याएका थिए । करीब १५ घरका युवाले मिलेर सञ्चालन गरेको सो व्यवसायलाई लघु उद्यम विकास कार्यक्रमबाट दुई लाख १५ हजार अनुदानसमेत प्राप्त भएको थियो ।
उद्योगबाट उल्लेख्य लाभ लिन नसकेपछि उद्योग नै बन्द हुने अवस्थामा पुगेको सञ्चालक मध्येका एक इन्द्रबहादुर विकले बताए । घरेलु औजार बनाउन ल्याएका आधुनिक मेशिन ग्यालेन्डर मेशिन, कटिङ मेशिन, वेल्डिङ मेशिन र ड्रिल मेशिनलगायत सामान अहिले त्यतिकै थन्किएका छन् । पछिल्लो समय गाउ“तिर खेती किसानीमा लाग्नेको संख्या घट्नु, सीमितले गरेको कृषिमा पनि आधुनिक उपकरणको प्रयोग बढ्नु, बजारमा आधुनिक घरेलु हतियारको उपलब्धता बढ्नुलगायतका कारण स्थानीय श्रम र सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
सीमित किसानले प्रयोग गर्ने उस्तै घरेलु हतियारको मूल्य स्थानीयले उत्पादन गरेकोभन्दा बजारमा आधा सस्तोमा पाइन थालेको छ । आरन चलाउन चाहिने कोइला र फलाम नपाइने समस्याले व्यवसायी उत्तिकै चिन्तित छन् । ‘यहाँको सानो बजारमा खानीबाट निकालिएको कोइला पाउने कुरै भएन’ आरन व्यवसायी वीरबहादुर विक भन्छन्, ‘दाउराबाटै कोइला बनाएर प्रयोग गर्नुपर्छ ।’
यो व्यवसायलाई आधुनिक र आत्मनिर्भर बनाउन आयातित हतियार प्रतिबन्ध गरी प्राविधिक उपकरण, कोइला र काँचो फलाममा अनुदान, आधुनिक प्रविधिको तालीम आवश्यक रहेको व्यवसायीको माग छ । ‘घरेलु सामान आयातितभन्दा धेरै गुणस्तरीय हुन्छ’ विकले भने, ‘सरकारले त्यस्ता आयातित सामग्रीलाई प्रतिबन्ध गराएर घरेलु उत्पादनलाई प्रयोगमा ल्याउने हो भने किसान पनि ठगिने थिएनन्, हामीजस्ता युवाले रोजगारी पनि पाउने थिया“ै ।’ यसबारे पछिल्लो पुस्तालाई तालीम, चेतना र व्यावसायिक तालीमको खाँचो रहेको उनले बताए । रासस

मा प्रकाशित !