बंगलादेशमा मतदान

ढाका, (एएफपी) । बंगलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाउँमा हिंसात्मक घटना भएको र दुुईको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
विपक्षीले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको हो ।
‘गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले एएफपीसँग भने ।
त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती जिल्लामा पनि विपक्षीले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाइ छ । ‘उहाँको अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ स्थानीय प्रहरी प्रमख जाजिबुल इस्लामले भने ।
लामो प्रतिपक्षीपछि भएको निर्वाचन अन्तर्गत बंगलादेशमा स्थानीय समयानुसार आइतबार विहान ८ बजे मतदान सुरु भएको थियो । कडा सुरक्षा व्यवस्थासहित निर्वाचन भएको छ । कतिपय हिंसात्मक घटनाका विवरण आउने क्रम जारी रहेको जनाइएको छ ।
अधिकारीले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । विगत केहीदिनदेखि हिंसात्मक घटना बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीको भनाइ छ । सुरक्षाकर्मीलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाउँगाउँसम्म खटाइएको छ ।
यस पटकको निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको र हजारौँ घाइते भएका थिए । प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आमनिर्वाचनका लागि देशभरी झण्डै ४० हजार मतदान केन्द्र तय गरिएको छ ।
मुस्लिम समुदायको बाहुल्यता रहेको यस देशमा अहिले प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेस्नल पार्टी (विएनपी)बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रधानमन्त्री शेख हसिनाले आफ्नो जीत सुनिश्चत भएको दाबी गर्दै आउनु भएको छ भने, विपक्षीले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन् । विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् ।
यी दुबै महिला नेतृ सन् १९८०को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउ“नेछिन् ।
यसअघि दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९०मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनःस्थापना गरेका थिए । सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन् र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ ।
विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय तोकिएको र उहाँ अहिले जेलमा हुनुहन्छ । बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउने छैनन् ।

मा प्रकाशित !