Blog

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।
पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।
यसवर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
रासस

0 मा प्रकाशित !

बस र माइक्रो ठोक्कियो : १२ जना घाइते

काठमाण्डाै । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा आज बिहान यात्रुबाहक बस र माइक्रो एकआपसमा ठोक्किएर माइक्रो खोलामा खस्दा १२ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौं आउँदै गरेको बा. ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
बस र माइक्रो ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको छ ।
रासस

0 मा प्रकाशित !

देशभर वर्षा, खाेलाहरूमा पानीको वहाव बढ्दाे, बाढी पहिरोको जोखिम

काठमाडौं । जल तथा मौसम पूर्वानमान महाशाखाले गएरातिबाट मुलुभर भारी वर्षा भएको जनाएको छ । देशभर मनसुनी वर्षा जारी रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

केहिदिनदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीहरुमा जलको वहाव बढेका छ । पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले आज दिनभर देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यसैगरी महाशाखाले  देशका अधिकांश भू-भागमा बदली रहने जनाएको छ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । शनिबार राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्वी र मध्यका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

0 मा प्रकाशित !

लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान शुरु

काठमाडौँ । लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ आजदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएकाले तीनलाई न्यूनीकरण गर्न यस अभियानले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भएको देखाएको र कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित भएकाले यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो, “ हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेकाले यसलाई नियन्त्रण गर्न अभियानले पनि सहयोग पु¥याउँछ ।

गृहमन्त्रालयका सहसचिव एवं अभियानका संयोजक नारायणप्रसाद दुवाडीले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा विशेष अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

अभियानका क्रममा लागुऔषध रोकथाम नीति एवं मागदर्शन तर्जुमा, वैकल्पिक विकास प्रयास, औषधि ऐन कार्यान्वयन र समाधानका उपाय, सञ्चार माध्यममा चेतनामूलक कार्यक्रम, गाँजा÷अफिमखेती फँडानी, नियन्त्रणात्मक कार्यक्रम, प्रभातफेरीलगायत कार्यक्रम सञ्चालन गरिने गृहमन्त्रालयले जनाएको छ । हाल नेपालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायतले लागुऔषध दुरुपयोग एवं ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । (रासस)

मा प्रकाशित !

प्रचण्डलाई विप्लव समूहले मार्न खोजेको भन्दै सुरक्षाका लागि सरकारले खटायो ५९ सुरक्षाकर्मी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहले मार्न खोजेको बताएपछि सरकारले उनको सुरक्षाका लागि ५९ जना सुरक्षाकर्मी खटाएको छ।

एक कार्यक्रममा प्रचण्डले आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘मलाई मारेर अर्को प्रचण्ड जन्मिन सक्ने भ्रम नसोच्दा हुन्छ।’

सुरक्षा थ्रेटबारे दाहाल आफैले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन। सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ।

मा प्रकाशित !

जब राष्ट्रपति भन्दा अगाडि नै स्वागत गर्न बिच्छ्याइएको रेड कार्पेटमा सर्पले सवारी गर्यो

काठमाडौं । राष्ट्रपति भण्डारीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई हिड्नको लागि ओछ्याइएको रेड कार्पेटमा सर्पले सवारी गरेको छ।

राष्ट्रपति आउनु भन्दा करिब आधा घण्टातिर नै विमानस्थलमा एउटा अचम्मको घटना देखियो। रेड कार्पेटमा राष्ट्रपति हिँडेको फोटो खिच्न पुगेका सञ्चारकर्मीहरुको अगाडिबाट एउटा सर्प निस्कियो।

त्यो पनि राष्ट्रपति भण्डारीको लागि ओछ्याइएको रेड कार्पेट हुँदै निस्कियो। त्यहाँ उपस्थित सञ्चारकर्मीहरुको ध्यान एकाएक त्यो सर्पतिर गयो र फोटो र भिडियो खिच्न थाले। केही बेरपछि उक्त सर्प झाडीमा पस्यो ।

राष्ट्रपति भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन्। राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था कमिसन अन दि स्ट्याटस अफ वुमन को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन्।

मा प्रकाशित !

३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ । ३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा भोली काठमाडौँ आउने भएका छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आउन लागेका हुन्। अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो। भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ।

दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन्।

उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन्। नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मा प्रकाशित !

भारतलाई हराउँदै नेपाली फुटबल टिम विजयी

काठमाडौँ । सोमबार भएको नेपाली महिला सिनीयर टोलीले भारतलाई हराएको छ।

भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तरमा हराएको हो।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल गरिन्। भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काइन्।

खेलको पाँचौ मिनेटमा साबित्राले गोल गर्दै नेपालले भारतविरुद्व सुरूवाती अग्रता बनाएको थियो। लगत्तै उनैले सातौं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन्।

मा प्रकाशित !

प्रधानमन्त्री ओली भन्छन्ः प्रहरीको बढुवामा कसैले रिझाउनु छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको सरुवा बढुवामा अब कसैले पनि रिझाउनु नपर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

उनले प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै भने, हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन। प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन।

कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ। उनले भने।

ओलीले सरकार कुनै पनि पक्षपात, कोशेली वा चाकडीको पक्षमा नरहेको भन्दै यसलाई निर्मूल पार्न सरकार लागिपरेको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले आवश्यक भौतिक, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए।

मा प्रकाशित !